खेलकुदलाई केवल मनोरञ्जनको दृष्टिले हेर्नु उचित हुन्न। मनोरञ्जनको उद्देश्यले मात्र पनि खेलकुदमा संलग्न हुँदा यसले व्यक्तित्व विकासको बहुआयाम मा सकारात्मक असर गरेको हुन्छ।

उचित समय व्यवस्थापन गर्दै खेलकुदलाई आफ्नो दैनिक जीवनको अभिन्न अंग बनाउन सके यसले शारिरिक, मानसिक तथा सामाजिक स्वास्थ्यलाई सुदृढ तथा सवल बनाउँदछ। झन बालबालिका तथा किशोरकिशोरीको नियमित दिनचर्याको हिस्सा खेलकुदलाई बनाउन सके उनीहरूको स्वस्थ तथा सम्वृद्ध भविष्यको मार्गलाई सहज तुल्याउन सकिन्छ।
व्यवस्थित तथा उचित खेलकुदमा संलग्न हुनु किशोरकिशोरी एवम् बालबालिकाका लागि निकै नै महत्वपूर्ण हुन्छ।
- खेलकुदमा व्यापक शारीरिक सक्रियता हुने हुँदा मांशपेसी तथा हड्डी बलियो हुन्छ। फोक्सो, मुटु, पाचन प्रणाली लगायत स्वास्थ्य हुनुका साथै ग्रन्थीहरू नियमित हुने हुँदा शारिरिक विकास समेत उचित तवरले हुन्छ। यसले तौललाई सन्तुलित राख्दछ।
- यसले मनोरञ्जन समेत प्रदान गर्ने भएकाले बालबालिकालाई उदासीनता बाट बचाउन सकिन्छ। पढाईको तनाव व्यवस्थापनमा समेत सहयोगी हुन्छ।बालबालिकामा नयाँ उर्जा तथा उत्साह भरिएर आउँछ।
- खेलकुद बालबालिकाका लागि नयाँ साथीहरु बनाउने राम्रो माध्यम पनि हो। यसले एक्लोपनले निम्त्याउन सक्ने मानसिक चुनौतीहरु बाट बालबालिकालाई टाढा राख्दछ।
- समुहमा सौहार्द तथा सहिष्णुताका साथ काम गर्न सिकाउनुका साथै बालबालिकामा निर्णय गर्ने क्षमता विकास समेत गराउँदछ।
- तनाव व्यवस्थापन गर्ने कौशलता प्रदान गर्नुका साथै खेलकुदले बालबालिकालाई अनुशासित, धैर्यवान, स्वाभिमानी तथा शिष्ट बनाउँदछ।
- खेलकुदमा राम्रो गर्न सके यस क्षेत्रमा समेत उज्ज्वल भविष्यको खाका कोर्न सकिन्छ।
- खेलकुदले स्वस्थ दिनचर्या अपनाउन प्रोत्साहित गर्दछ। यसले गर्दा बालबालिकाहरू कुलत तथा दुर्व्यसन पर्ने सम्भावना न्यून हुँदै जान्छ।
उचित समय व्यवस्थापन गर्दै अध्ययनसँगै खेलकुदलाई बालबालिकाहरूले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउन एकदमै महत्वपुर्ण हुन्छ।यसले जित हारलाई सहज तथा सामान्य रुपमा स्विकार्दै हरेक परिस्थितिमा सकारात्मक रहन सिकाउदछ। सवल एवं दक्ष नागरिक निर्माणमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ।